सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध

तु खबर संवाददाता
२०७९ भाद्र ३०, बिहीबार ०८:३५
file-photo

मकवानपुर । वर्षाका कारण आएको पहिरोले गर्दा मकवानपुरका सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ ज्यामिरेमा आज बिहान वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

उक्त पहिरो स्थानीय सरकारको समन्वयमा सडक विभागका प्राविधिकहरुले हटाउने प्रयास भइरहेको र आज अपराह्नसम्ममा यातायात संचालनमा ल्याउने इलाका प्रहरी कार्यालय भीमफेदीमा प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइन् ।

पहिरोका कारण हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जाने छोटो दुरीको मार्ग भएर संचालन हुने साना सवारीसाधन बैकल्पिक सडक प्रयोग गरेर चलिरहेका छन् ।

यस्तै, काठमाडौं जोड्ने, पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजमार्ग, कान्तिराजपथ, काुलेखानी सडकखण्डमा भने यातायात संचालन भइहरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बर्खायाम लागेसँगै विभिन्न स्थानहरुमा पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको छ ।