बालबालिकालाई भविष्यको जिम्मेवार नागरिक बनाउन लागि परौं : प्रदेश प्रमुख शर्मा

तु खबर संवाददाता
२०७९ भाद्र २९, बुधबार ०८:१९
file-photo

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज भदौ २९ गते बुधबार मनाइदै गरिएको राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रमुख शर्माले ‘‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’’ भन्ने नारासहित आज मनाइदै गरिएको ५८ औं राष्ट्रिय बाल दिवसका सन्दर्भमा शुभकामना व्यक्त पगरेका हुन् ।

जारी विज्ञप्तिमा नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेको दिनका अवसरमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको उल्लेख गरिएको छ ।

‘बालबालिकाको सवालमा व्यवस्था गरिएका विभिन्न संवैधानिक तथा कानूनी प्रावधानहरूको स्थानीय, प्रदेश तथा संघ तीनै तहका सरकारबाट प्रभावकारी कार्यान्वयन हुनुपर्दछ । ’ शर्माले जारी विज्ञप्तिमा भनिएको छ ।

प्रमुख शर्माले वर्तमानका साझेदार एवं भविष्यका कर्णधार मानिने बालबालिकालाई भोलिका दिनमा जिम्मेवार नागरिक बनाउन सम्बन्धित पक्ष लागिपरौं भन्ने आव्हान समेत गरेका छन् ।