दार्चुलामा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुग्यो

तु खबर संवाददाता
२०७९ भाद्र २५, शनिबार १८:१३

धनगढी । दार्चुलामा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ जना पुगेका छ । शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर ५ जनाको मृत्यु भएको हो ।

वर्षासँगै आएको बाढीले घर बगाउँदा महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको मृत्यु भएको हो।

यस्तै, नौगाड गाउँपालिकाका ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव फेला परेको प्रहरीले जनाएको छ।

अहिले थप खोजी तथा उद्धारका लागि सेनाको हेलिकप्टर पनि दार्चुला पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हाल घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीयको टोली खटिएको जनाइएको छ ।

प्रहरीका अनुसार, नौगाढका ३ जना घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पुर्‍याएको छ । महाकाली नगरापालिका–२ मैखोलीका १ जनाको उद्धार गर्न हेलिकप्टर गएको बुझिएको छ ।

अहिलेसम्म महाकाली नगरपालिकामा घरमा सुतिरहेका ७ जना घरसँगै बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।