कैलाश गाउँपालिकाको १०० दिन : आशा लाग्दो सफलता
मकवानपुर । कैलाश गाउँपालिकाले १०० दिनको प्रगति विवरण सार्वजिनक गरेको छ । गतको बैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाच अन्तर्गत निर्वाचित भएर पदभार ग्रहण गरेपछिको १०० दिनको प्रगति विवरण सार्वजनिक भएको हो ।
शुक्रबार पालिकामा आयोजित कार्यक्रममा अध्यक्ष लोकबहादुर मुक्तानले १०० दिनको अवधिमा भएका प्रगति सार्वजनिक गरेका हुन् । कार्यक्रममा उपाध्यक्ष बाल कुमार मल्ल ठकुरी, वडाध्यक्षहरू राजेन्द्र घिसिङ, भुवनसिं घलान लगायत कार्यपालिका सदस्यहरूको उपस्थिति थियो ।
अध्यक्ष मुक्तानले यति छोटो समयमा पालिकाले प्राप्त गरेको सफलतामा खुसि व्यक्त गरे । निर्वाचित भएर आउँदा आर्थिक वर्ष सकिनै लागेको र नयाँ आर्थिक वर्ष पनि यही अवधिमा सुरू भई नयाँ कार्यक्रमहरू सुरु गर्न खोजिरहेको अवस्थामा पालिकाबाट भएका कामहरू हेर्दा आगामी दिनहरूमा अझ राम्रो गरी काम गर्न प्रेरणा मिलेको उनले बताए ।
पालिकाले ५ सय घरपरिवारको स्वास्थ्य विमा कार्यक्रम अगाडि बढाएको छ । गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा सुत्केरी हुने सम्पुर्ण महिलाहरूलाई नेपाल सरकारले नियमानुसार दिने सुविधाको अतिरिक्त थप २ हजार रूपैंया पोषण भत्ता व्यवस्था गरिएको छ । हरेक वडाबाट २ जनाका दरले २० जना विद्यार्थीलाई कृषि र पशु जेटीए पढाउन सुरु गरिएको छ ।
यसैगरी, जटिल खालका प्रसब व्यथा लागेका महिलाहरूलाई सम्बन्धित अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईएको छ । वडा नम्वर ९ र १० मा दुग्ध चिस्यान केन्द्र स्थापनाको लागि बजेट व्यवस्था गरिएको छ । गाउँपालिका वडा कार्यालयहरु र सम्पुर्ण स्वास्थ्य चौकीहरुमा ईन्टरनेटको व्यवस्था गर्नको लागि नेपाल दुरसञ्चार संस्थानसँग फोरजी संचालनको लागि पहल भइरहेको, न्यून वेतनमा काम गरिरहेका कर्मचारीलाई न्यायोचित तलव सुविधाको व्यवस्था गरिएको साथै महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मासिक ३ सय रूपैंया थप व्यवस्था गरिएको छ ।

पूर्वाधारतर्फ गाउँपालिकादेखि किर्तिमान डाँडासम्मको १ किमि वाटोलाई चौडा गरी ग्राभेल गरिएको छ । २ सय २५ घरधुरीलाई खर मुक्त छाना अभियानको सुभारम्भ गरिएको छ । पालिकाको महत्वपूर्ण सडकहरूमा पक्की पुलको निर्माणको थालनि गरिएको छ । यसैगरी, ४ वटा पक्की पुल निर्माण गर्नको लागि डीपिआर तयार गरी सम्बन्धित मन्त्रालयमा कुरा भइरहेको र ४ वटा झोलुङ्गे पुलको बजेट विनियोजन गरिएको छ ।
यसैगरी, पालिकाबाट सरूवा भएका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईको विदाई गरिएको छ भने पालिकामा नयाँ प्रशासकीय अधिकृत अशोक बिष्टलाई स्वागत गरिएको छ । चौलागाई १४ महिनादेखि कैलाश गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए भने बिष्ट पञ्चकन्या गाउँपालिका नुवाकोट बाट सरुवा भई आएका हुन् ।
