नागस्वती भेट्रान्स कपको उपाधि आयोजक क्लबको हातमा
मकवानपुर । हेटौंडामा जारी प्रथम नागस्वती रनिङ शिल्ड एट ए साइड भेट्रान्स फुटबल कपको उपाधि आयोजक क्लब नागस्वती भेट्रान्स क्लबले हात पारेको छ ।
बुधबार भएको फाइनल खेलमा ठमेल चियापप भेट्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै नागस्वती भेट्रान्स क्लबले उपाधि हाल पारेको हो । विजेता टिम नागस्वतीले २ लाख १ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
यसैगरी, उपविजेता ठमेल चियापपले १ लाख १ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । आजको खेलमा म्यान अफ द म्याच नागस्वतीका गोलकर्ता राजकुमार घिसिङ भएका छन् ।
त्यस्तै, खेलमा उत्कृष्ट गोल रक्षक नागस्वतीका दीलिप क्षेत्री भएका छन् भने उत्कृष्ट डिफेन्डसर नागस्वतीका भीम श्रेष्ठ घोषित भएका छन् । त्यस्तै, उत्कृष्ट मिल्ड फिल्डरमा ठमेल चियापपका लक्ष्मी यक्क भए भने उत्कृष्ट स्टाइकर नागस्वतीमा विक्रम श्रेष्ठ घोषित भएका हुन् । उत्कृष्ट घोषित हुनेहरुले १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
खेल अवधिमा उत्कृष्ट खेल प्रदर्शन गरेका नागस्वतीका राजकुमार घिसिङले नगद ५० हजार सहित म्यान अफ द सिरिज प्राप्त गरेका छन् । प्रतियोगितामा देशभरका ४० वर्ष माथी उमेर समूहका पुर्व राष्ट्रिय खेलाडीहरुको १८ समुहको सहभागिता भएका थिए ।
