मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध
मकवानपुर । वर्षाका कारण आएको पहिरोले गर्दा मकवानपुरका सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ तिरतिरेधारास्थित आज बिहान साढे ४ बजे वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
उक्त पहिरो स्थानीय सरकारको समन्वयमा सडक विभागका प्राविधिकहरुले हटाउने प्रयास भइरहेको र आज अपराह्नसम्ममा यातायात संचालनमा ल्याउने इलाका प्रहरी कार्यालय भीमफेदीमा प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइन् ।
पहिरोका कारण हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जाने छोटो दुरीको मार्ग भएर संचालन हुने साना सवारीसाधन हिजोदेखि बैकल्पिक सडक प्रयोग गरेर चलिरहेका छन् । बर्खायाम लागेसँगै विभिन्न स्थानहरुमा पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको छ ।
