सर्पले टोकेर छोरीको मृत्यु, आमा गम्भीर
कञ्चनपुर । कञ्चनपुरमा सोमबार विषालु सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार, घरमै सुतेको बेला पुष्पा बेहोस् अवस्थामा फेला परेपछि आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । शव परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको छ ।
मृतककी आमा अन्दाजी ४८ वर्षीया मञ्जु देवी दमाईलाई समेत यही भदौ १८ गते बिहान सुतिरहेको बेला घाँटीमा सर्पले डसेको थियो । महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको सघन उपचार कक्षमा मञ्जुको उपचार भइरहेको जनाइएको छ ।
