आसन्न निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम

तु खबर संवाददाता
२०७९ भाद्र २१, मंगलवार ०८:२८

काठमाडौं । आसन्न निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरिएको छ । सोमबार निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल विज्ञप्ति जारी गरी आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल कायम गरेको जानकारी गराएका हुन् ।

यसअघि देशभर १० हजार ७५६ मतदान स्थल थिए । मतदान स्थल पुनरावलोकन गर्दा देशभरका ४०१ मतदान स्थललाई हटाई नयाँ मतदान स्थल निर्धारण गरिएको आयोगले जनाएको छ ।

यस्तै, आयोगले मतदान स्थलको पुनरावलोकन गरेको छ । आयोगका सहायक प्रवक्ता अर्यालका अनुसार निर्वाचनमा मतदानमा सहजताका लागि मतदान स्थलको पुनरावलोकन गरेको हो । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको सङ्ख्या, सुविधा एवम् सुरक्षाको अवस्था समेतलाई मध्यनजर गरी केही मतदान स्थल पुनरावलोकन गरिएको आयोगले जनाएको छ ।