मकरीमा प्लस टु संचालन, वडाध्यक्ष भर्ना

तु खबर संवाददाता
२०७९ भाद्र २१, मंगलवार ०८:४९

मकवानपुर । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर– १ मकरीमा प्लस टु संचालनमा आएको छ । स्थानीय बालजीवन ज्योति माद्यमिक विद्यालयमा भदौ १० गतेबाट प्लस टु संचालनमा आएको हो ।

भौगोलिक रुपमा विकट मानिने सो वडामा प्लस टु संचालनमा आएसँगै स्थानीय बालबालिकाहरुलाई उच्च शिक्षा अध्ययनका लागि सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद खनालले जानकारी दिए ।

‘हाम्रो वडामा यही एउटा मात्रै सामुदायिक विद्यालय हो । विगतमा कक्षा १० सम्म मात्रै अध्ययन अध्यापन हुने भएकोले यहाँका विद्यार्थीहरु उच्च शिक्षा अध्ययनको लागि हेटौंडा र बस्तीपुरमा डेरा लिएर बस्नुपर्ने बाध्यता थियो ।’ अध्यक्ष खनालले भने, ‘अब गाउँमै शिक्षा र वाणिज्य संकायको अध्ययन प्रारम्भ भएको छ । हामीले २०७३ सालमा महायज्ञ लगाएर संकलन ९ लाख रुपैयाँबाट धरौटी राखेर क्याम्पस संचालन गरेका हौँ ।’

वडाध्यक्षसमेत रहेका खनाल आफैँ पनि कक्षा ११ मा भर्ना भएका छन् । २०४८ सालमा बारा जिल्लाको कलैयास्थित सिद्धेश्वर संस्कृत विद्यालयबाट द्वितीय श्रेणीमा एसएलसी पास गरेका खनालले आर्थिक अवस्थाकै कारण औपचारिक शिक्षालाई बीचमै रोकेका थिए । ३१ वर्षपछि अहिले उनी गाउँकै विद्यालयको कक्षा ११ मा भर्ना भएका हुन् ।

स्थानीय १३ जना समाजसेवीहरुले दान गरेको कूल १ विघा ७ कठ्ठा जग्गामा २०१९ सालमा बाल जीवन ज्योति स्कुल स्थापना भएको थियो । सो विद्यालयमा हाल पहिलो पटक उच्चशिक्षा अन्तर्गत कक्षा ११ मा शिक्षा र व्यवस्थापन संकाय पढाइ प्रारम्भ भएको प्रधानाध्यापक एकराज गौतमले जानकारी दिए ।

करिब साढे ५०० विद्यार्थी संख्या रहेको उक्त विद्यालयमा कक्षा ११ सञ्चालन भएपछि ६०० भन्दा बढी विद्यार्थी पुग्ने प्रधानाध्यापक गौतमको भनाई छ । विद्यालयमा शिक्षक दरबन्दी थप गर्न सके शिक्षणलाई अझै गुणस्तरीय बनाउन सकिने प्रधानाध्यापक गौतमको भनाई छ । उक्त विद्यालयमा कूल संख्याको १४ प्रतिशत सिमान्तकृत चेपाङ समूदाय, २२ प्रतिशत क्षेत्री ब्राम्हण, ५७ प्रतिशत तामाङ तथा जनजाति, र बाँकी दलित समूदायका विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।