एकैदिन दुई जनामाथि सामूहिक बलात्कार, तीन पक्राउ
विराटनगर । मोरङका दुई छुट्टाछुट्टै स्थानमा बिहीबार राति दुई महिलामाथि सामूहिक बलात्कार भएको छ । विराटनगर महानगरपालिका र जहदा गाउँपालिकामा सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, विराटनगरमा किशोरी र जहदामा महिलामाथि सामूहिक बलात्कार भएको हो । बिहीबार विराटनगर–१४ जतुवामा १८ वर्षीया युवतीमाथि ५ जनाले सामूहिक बलात्कार गरेका थिए ।
केटा साथीसँग गफ गरेर बसिरहेका बेला मादक पदार्थ सेवन गरेर पुगेको समूहले किशोरीलाई कुटपिट गरी सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरीमा परेको छ । राति ९ः३० बजेतिर आएका पाँच जनाको समूहले दुबै जनालाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । युवक भने उम्किएर भागेका थिए भने किशोरीलाई नियन्त्रणमा लिएर बलात्कार गरेको प्रहरीले जनाएको छ
सो समूहबाट भागेका युवकले गाउँमा गएर होहल्ला गरेपछि किशोरीलाई नियन्त्रणमा लिएर करणी गर्नेहरू भागेको प्रहरीले जनाएको छ । कुटपिटबाट युवक र युवतीको टाउको र अनुहारमा चोट लागेको छ । प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै दुबै जनालाई उपचारको लागि अस्पताल लगिएको थियो ।
पीडितले किटानी जाहेरी दिएपछि विराटनगर–१४ का २९ वर्षीय सन्तोष मण्डल पक्राउ परेका छन् । घटनामा संलग्न अन्य चार जना भने फरार छन् । उनीहरुको खोजीकार्य हुनुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहको जनाएको छ ।
यस्तै, बिहीबार नै मोरङको जहदा गाउँपालिका–७ मा २ जना युवाले महिलामाथि सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ती महिलालाई राति १० बजे अन्दाजी ३५ वर्षीया महिलालाई चिनजानकै युवाले करणी गरेको हो । राति १० बजे घरबाट काम छ भन्दै बोलाएका युवाले घर नजिकै खेतमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ ।
घरमा फर्किएर महिलाले आफ्ना पतिलाई सुनाएपछि घटना सार्वजनिक भएको हो । घटनामा संलग्न भएको आरोपमा जहदा–७ का २४ वर्षीय डोमा भनिने राहुल साह र २८ वर्षीय सञ्जय सोरेनलाई पक्राउ परेका छन् । पक्राउ परेकाहरुमाथि करण सम्बन्धी कसूरमा जिल्ला अदालत मोरङबाट म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
