भारतमा एकै परिवारका ६ जना मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ भाद्र १०, शुक्रबार १८:११
सांकेतिक तस्वीर

भारत । भारतमा शुक्रबार एउटै परिवारका ६ जना मृत अवस्थामा फेला परेका छन् । देशको अम्बालाअन्तर्गत पर्ने बालाना गाउँका एकै परिवारका ६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनाका बारेमा जानकारी पाउने वित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलमा उनीहरुले मृत्यु अगाडि लेखेको पत्र समेत भेटिएको जनाएको छ । तर, पत्रमा लेखिएको विषय भने प्रहरीले खुलाएको छैन ।

मृत अवस्थामा भेटिनेहरुमा ६५ वर्षका संगत राम, ३४ वर्षका सुखविन्डर सिंह, संगतकी श्रीमती महिन्द्रा कौर, सुखविन्डरकी श्रीमती रिना, सिंहका दुई छोरीहरु अशु र जास्सी रहेका छन् । उनीहरुको मृत्युको कारण भने अहिलेसम्म खुलेको छैन । तर, प्रारम्भिक अनुसन्धानबाट उनीहरुको आत्महत्या भएको आशंका गरिएको छ ।

उक्त घटनाको बारेमा अनुसन्धान भइरहेकाले थप विवरण आउन बाँकी नै रहेको जनाएको छ । उनीहरुको शव जम्मुमा रहेको सरकारी मेडिकल कलेजमा राखिएको छ । घटनाका बारेमा बुझ्न प्रहरीले स्थानीय र उनीहरु निकटस्थसँग बयान लिएको छ ।