प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा ८७ दल सहभागी हुने
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा देशभरका ८७ वटा दल सहभागी हुने भएका छन् । निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी आसन्न निर्वाचनमा ८७ दलले सहभागिता जनाउने निश्चित भएको र त्यसमा एकल तथा संयुक्त गरी ७९ वटा चुनाव चिह्नका मतपत्रमा समेटिने जानकारी गराएको हो ।
आयोगले निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधि भित्र ८० वटा दल दर्ता निवेदन र एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि ४ वटा निवेदन गरी जम्मा ८४ वटा निवेदन प्राप्त भएको थियो । राजनीतिक दलहरूबाट दर्ता हुन आएका निवेदन लगायत अन्य कागजातहरूको अध्ययन र जाँचबुझ गर्दा ७९ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको कुल संख्या ८७ कायम गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
निर्वाचन प्रयोजनका लागि प्रदेश नं १ मा ६२ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी ७० वटा दल, मधेश प्रदेशमा ६७ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी ७५ दल, बागमती प्रदेशमा ६४ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी ७२ वटा दल, गण्डकी प्रदेशमा ५८ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी ६६ वटा, लुम्बिनी प्रदेशमा ६० वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी ६८ वटा दलले सहभागिता जनाउनेछन् ।
यसैगरी, कर्णाली प्रदेशमा ५६ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी ६४ वटा दल र सुदूरपश्चिम प्रदेशमा ५६ वटा दलका निर्वाचन चिन्हहरू मध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा ६४ वटा दलले सहभागिता जनाउने निर्वाचन आयोगले जनाएको छ ।
