युवालाई मासिक ५० हजार कमाउने बनाउछौँ : मुख्यमन्त्री पाण्डे

तु खबर संवाददाता
२०७९ भाद्र ८, बुधबार १८:५३
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशका युवालाई मासिक रु ५० हजार कमाउन सक्ने दक्ष नागरिक बनाउने दाबी गरेका छन् । मुख्यमन्त्री पाण्डेले बुधबार बागमती उद्योग परिषद्ले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को तयारी बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले तीन महिना बन्द प्रशिक्षण दिएर पहिलो चरणमा १० हजार जनशक्ति उत्पादनको कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिए ।

उनले उच्च प्रविधिको मेसिन संचालनका लागि भारतबाट जनशक्ति ल्याउनुपर्ने र आफ्नो देशको युवा खाडीमा कठिन श्रम गर्न बाध्य हुनुपर्ने अवस्थामा सुधार ल्याउन प्रदेश सरकारले उक्त कार्यक्रम गर्ने योजना बनाएको बताए ।

अब पहिलो प्राथमिकता दक्ष युवा उत्पादन गर्नु रहेको उनको भनाइ छ । घरमा स्नातकोत्तर सकेर बसेका छोराछोरी भए पनि सामान्य मेसिन बिग्रँदा र पानीको पाइप कस्नुपरेमा पनि समस्या हुनु भनेको शैक्षिक प्रणालीमा समस्या रहेको उनले बताए । कच्चा पदार्थ प्राप्त हुने स्थान नजिकै उद्योग खोलेर उद्योग ग्रामको विकास गर्नुपर्ने उनको भनाइ छ ।