बजेटमा नतोकिएका कार्यक्रमहरु संचालन नगर्न सरकारलाई निर्देशन

तु खबर संवाददाता
२०७९ भाद्र ५, आईतवार १८:२१

काठमाडौं । निर्वाचन आयोगले सरकारको योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रमहरु संचालन नगर्न तीन वटै तहको सरकारलाई निर्देशन दिएको छ । आयोगले प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम, पूर्वाधार विकास कार्यक्रम र सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ योजना तथा कार्यक्रमहरु संचालन नगर्न संघ, प्रदेश र स्थानीय तहका सरकारलाई निर्देशन दिएको हो ।

आइतबार निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले पदावधि सकिन लागेका जनप्रतिनिधिले नयाँ काम गर्दा मतदातालाई प्रभाव पार्ने र निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने भएकाले निर्देशन जारी गरिएको उल्लेख गरे । जारी निर्देशनमा मिति घोषणा भइसकेको अवस्थामा सरकारको योजनामा नपरेका कार्यक्रमहरु संचालन गर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पर्ने जनाइएको छ ।

निर्वाचनको स्वच्छता र पवित्रतालाई कायम गर्नमा आयोगको जोड रहेको उनको भनाइ छ । निर्वाचन सबैको लागि समान प्रतिष्पर्धा गर्ने थलो भएको उल्लेख गर्दै उहाँले आयोगले पनि सबैलाई समान व्यवहार गरेको बताए । निर्वाचन आयोगले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति तय गरेको छ । निर्वाचन तयारीका लागि आवश्यक कामहरु अघि बढिरहेको आयोगले जनाएको छ ।