मकवानपुरमा खोलाले बगाउँदा दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र ५, आईतवार १६:२६
File Photo

मकवानपुर । मकवानपुरमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर १० स्थित मनहरी खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

मृत्यु हुनेहरुमा कैलाश गाउँपालिका वडा नम्वर १० की ३३ वर्षीया सन्जु प्रजा र ४० वर्षीया माइलीमाया रुम्बा रहेका छन् । शनिबार साँझ धाधरका एक कृषकको धान गोडेर घर फर्कने क्रममा तीन जना महिलालाई मनहरी खोलाले बगाएको थियो ।

खोलाले बगाएकामध्ये सन्जुको शव आइतबार बिहान कैलाश–३ भुष्टारास्थित मनहरी खोला फेला परेको थियो भने माइलीमायाको आइतबार दिउँसो फेला परेको हो । विमला विकको भने शनिबार बेलुकै घाइते अवस्थामा उद्धार गरिएको थियो । उनको उपचार स्थानीय स्वास्थ्य चौकीमा भइरहेको छ ।