तामाङ प्रसारण दिवसको अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम

मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरले बुधबार हेटौंडामा अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । संघले २८ औं तामाङ प्रसारण दिवसको अवसरमा “तामाङ पत्रकारहरुको अवस्था, अवसर र चुनौती विषयक अन्तरक्रिया तथा सम्मान” कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रम तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको सभाध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित कुमार घलानको प्रमुख आतिथ्यतामा भएको हो ।
उक्त कार्यक्रममा मकवानपुरकी पत्रकार जमुना थिङलाई सम्मान गरिएको थियो । तामाङ समुदायको प्रतिनिधित्व गर्दै पत्रकारिता विषयमै उच्च शिक्षा अध्ययन गर्नुका साथै व्यावसायिक पत्रकारिताको क्षेत्रमा क्रियाशील रहेको भन्दै थिङलाई उदयमान तामाङ पत्रकार–२०७९ बाट नगदसहित सम्मान गरिएको हो ।
पत्रकार थिङ समृद्ध समाज राष्ट्रिय दैनिक/रेडियो निकास ९३.४ मेगाहर्जमा कार्यरत छन् । उनी तामाङ पत्रकार संघ मकवानपुरकी सदस्यसमेत हुन् । यस्तै, कार्यक्रममा स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरिएको थियो।
कार्यक्रममा जिल्ला समन्वयन समितिका उपप्रमुख सानुकाजी लुइटेल, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना लामा, उपप्रमुख राजेश बानियाँ, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान लगायतको आतिथ्यता रहेको थियो ।