बुटवलको होटलमा महिला र पुरूष मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ श्रावण ३१, मंगलवार १०:२४
सांकेतिक तस्वीर

बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत अवस्थामा फेला परेका छन् । धादिङको कुम्पुर घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत अवस्थामा फेला परेका हुन् ।

बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा उनीहरु आइतबार राति सँगै बसेका थिए । सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, महिलाको थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । तर, उनका श्रीमान विदेशतिर रहेको र एक÷डेढ महिनादेखि हराएको भन्ने सुन्नमा आएको जनाइएको छ । दुबै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाइएको छ ।