प्रचण्ड र बाबुरामबीच एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति

तु खबर संवाददाता
२०७९ श्रावण २९, आईतवार १६:०४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी केन्द्रका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभामा निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ ।

आइतबार बिहान खुमलटार पुगेका डा. भट्टराई र अध्यक्ष प्रचण्डबीच आसन्न निर्वाचनमा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको हो । यद्यपि, सहमतिलाई औपचारिक रुप दिन भने बाँकी रहेको छ ।

त्यस्तै, दुई पार्टीले एउटै घोषणापत्र लिएर चुनावमा जाने पनि सहमति भएको छ । ‘मौखिक सहमति भएको छ । अब यसलाई हस्ताक्षर गरेर औपचारिक रुप दिन बाँकी छ,’ स्रोतले बतायो । स्रोतका अनुसार, अब चाँडै यसलाई औपचारिकता दिइनेछ । आसन्न चुनावमा दुई पार्टीबीच सहकार्यका लागि केही दिनयता निरन्तर छलफल र संवाद जारी रहेको थियो ।