पूर्व वडाध्यक्ष श्रेष्ठ मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७९ श्रावण २६, बिहीबार १५:५७

स्याङजा । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्वर ९ का पूर्व वडाध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

प्रहरीका अनुसार, भित्री कच्ची सडकमा ग १६ प ५४६१ नम्वरको स्कुटर बाटो छेउमा रहेको अवस्थामा बाटोको कुनातर्फ शव उत्तानो अवस्थामा आज बिहान भेटिएको हो । शव परीक्षणका लागि वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा ल्याइएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ५५ वर्षीय श्रेष्ठ विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।