हेटौंडा–१८ मा वर्थिङ सेन्टर भवनको शिलान्यास
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ को रामधुनीस्थित हर्नामाडी स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर भवनको शिलान्यास गरिएको छ । बुधबार एक कार्यक्रमबीच हेटौंडा–१८ का वडाध्यक्ष अनिलकुमार बाँनियाँले उक्त वर्थिङ सेन्टर भवनको शिलान्यास गरेका हुन् ।
भवनको शिलान्यास गर्दै वडाध्यक्ष बाँनियाले वर्थिङ सेन्टर निर्माण पनि हेटौंडा–१७ र १८, बकैया गाउँपालिका वडा नम्वर ६ र मकवानपुगढी गाउँपालिका वडा नम्वर १ का स्थानीयलाई थप सहज हुने बताए । उनले भवनको निर्माण पछि स्वास्थ्य चौकीलाई मिनी अस्पतालको रुपमा विकास गर्दै एमबीबीएस डाक्टरसहितको सेवा दिइने समेत जानकारी गराए ।
गोर्खा लाहरी प्रालिको आर्थिक सहयोगमा बन्न लागेको वर्थिङ सेन्टरको ४ कोठे भवन असोज दोस्रो सातासम्ममा सम्पन्न हुने लाहरीका प्रशासन प्रमुख प्रभाकर भण्डारीले जानकारी दिए । उनले लाहरीको सामाजिक उत्तरदाहित्व बहन कार्यक्रम अन्तर्गत ३० लाख आर्थिक सहयोगमा भवन तथा वर्थिङ सेन्टरलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिने बताए ।
शिलान्यास कार्यक्रममा वडाध्यक्ष बाँनिया, लाहरीका भण्डारी, उत्पादन संयोजक विवेश डोटेल लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
