हेटौंडाका पाण्डे प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७९ श्रावण २४, मंगलवार १५:४८

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ बस्ने २५ वर्षीय सन्तोष पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पाण्डेलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–११ राप्तीचोकस्थित सडकखण्डबाट सोमबार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, उक्त सडकखण्डमा बागमती प्रदेश ०३–००५ प २८३३ नम्वरको मोटरसाइकलमा सवार पाण्डेले लगाएको पाईन्टको खल्तीमा लुकाई छिपाइ राखेको अवस्थामा लागूऔषध खैरोहिरोईन जस्तो देखिने खैरो धुलो पदार्थ ३८० मिलि ग्राम बरामद भएपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाइएको जनाइएको छ ।