करेन्ट लागेर ३ जनाको मृत्यु
राजविराज । सप्तरीमा बुधबार राति करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरुप नगरपालिकामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार रहेका छन् । उनीहरु ससुरा र बुहारी हुन् ।
प्रहरीका अनुसार, सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो । अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
यस्तै, सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो ।
