कक्षा ११ मा भर्ना हुन एसईईमा १.६ जीपीए अनिवार्य

तु खबर संवाददाता
२०७९ श्रावण १५, आईतवार ०९:०८
file-photo

मकवानपुर । कक्षा ११ मा भर्ना हुन माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १.६ जीपीए ल्याएको हुनेपर्नेछ । कक्षा ११ मा भौतिक विज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चार वटा विषयमा कम्तीमा ‘सी प्लस ग्रेड’ हासिल गरी समग्र नतिजामा न्यूनतम १.६ जीपीए प्राप्त गरेको हुनुपर्ने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधार अनुसार, भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषयबाहेकका अन्य विषय पढ्न चाहनेले एसईईमा न्यूनतम १.६ जीपीए हासिल गरेको हुनुपर्ने, विज्ञानबाहेक शिक्षा, व्यवस्थापन, मानविकी विषयमा अनिवार्य तथा ऐच्छिक विषयका रूपमा गणित पढ्न चाहनेले पनि एसईईमा ‘सी प्लस ग्रेड’ प्राप्त गरेकै हुनुपर्नेछ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईईमा तत्कालका लागि कक्षा ११ मा भर्ना नै हुन नपाउने अर्थात् जिरो दशमलव आठदेखि एक दशमलव दुई जीपीए ल्याउने विद्यार्थी तीन हजार दुई सय रहेका छन् । बोर्डले यी विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा व्यवस्था गरेको छ । तर, सोभन्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थी पनि विषयगत रूपमा प्राप्त ग्रेडमा चित्त नबुझेमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।