हेटौंडामा घरायसी सामान चोरी गर्ने दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ स्थित सिग्रेनीका विभिन्न घर तथा पसलबाट सामान चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल हेटौंडा–१२ सिग्रेनीमा बस्दै आएका २४ वर्षीय जय प्रकाश साह र पर्सा जिल्ला घर भई हाल हेटौंडा–१२, सिग्रेनीमा बस्दै आएकी २५ वर्षीय सपना चौधरी रहेका छन् ।
सिग्रेनीमा होटल संचालन गर्दै आइरहेका उनीहरू विगतका दिनमा चोरीमा संलग्न भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट कस्मेटीक सामान, खाद्यान्न, भाँडाकुडा, कपडा, रक्सीलगायतका चोरीका सामानहरु बरामद गरेको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्त्धान भइरहेको जनाएको छ ।
