हेटौंडामा पाँच दिने नमुना प्रदेश युवासभा अभ्यास कार्यक्रम सम्पन्न
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा भएको पाँच दिने नमुना प्रदेश युवासभा अभ्यास कार्यक्रम सम्पन्न भएको छ । प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रम आज बिहीबार सम्पन्न भएको हो । समापन कार्यक्रम बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले संसदको काम भनेको कानून निर्माण गर्ने बताए । अहिले संसदहरु कानून निर्माण भन्दा पनि आफ्ना क्षेत्रमा कसरी धेरै बजेट पार्ने र विकास निर्माणका काम गरेर देखाउने भन्ने अभियानमा लागेको बताउँदै उनले यस्ता कार्यहरुले गर्दा संसदको अभ्यास हुँदै जाने बताए ।

यस्तै, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले यो संसदको अभ्यास गर्ने अवसर भएकाले यसमा युवाहरु एकजुट भएर लाग्नुपर्ने बताए । स्थानीय तहमा सरकार र प्रतिपक्ष मात्र नभएर एक भएर काम गर्ने अभ्यास गर्दै आएको उनको भनाई छ ।
यस्तै, प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले पाँच दिनको तालिमपछि युवाहरुले ठ्याक्कै संसदको अभ्यास गरेर देखाएको बताए । अहिले स्थानीय तहमा युवा नीतिको आवश्यक रहेको बताउँदै उनले प्रदेशका पालिकाहरु युवा मैत्री बनाउनका लागि आग्रह गरे ।
बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी (छिन्तु), गैरसरकारी संस्था महासंघ बागमती प्रदेशका अध्यक्ष आरती पाठकलगायतको आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले तालिममा सहभागी युवाहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
