तिनाउमा डुबेर एक जनाको मृत्यु, एक जना बेपत्ता
बुटवल । बुटवलको तिनाउ नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेश दाहोरिया गोरखपुरबाट बुटवल आएका १८ वर्षीय नन्दकुमार निसादको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
यस्तै, उक्त नदीमा डुबेर अर्का एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा शनि कुमार रहेका छन् । उनीहरू ६० जनाको समूहमा भारतबाट नेपाल घुम्न आएका थिए ।
प्रहरीका अनुसार, आइतबार सिद्धबाबा मन्दिरको दर्शन गरी केही युवाहरू सिद्धबाबा नजिकैको झोलुङ्गे पुलमुनि पौडी खेल्न गएका थिए । तिनाउमा पौडी खेल्ने क्रममा नन्दकुमार र शनिलाई नदीले बगाएको थियो ।
घटना थाहा पाएपछि प्रहरीले खोजी गर्दै जाँदा निसादको शव बुटवल १९ लाफाचौरमा फेला परे हो । शनि भने अझै बेपत्ता रहेको र उनको खोजीकार्य गरिरहेको प्रहरीले जनाएको छ ।
