हेटौंडा उपमहानगरपालिकाद्वारा सहकारीलाई ट्रयाक्टर
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई ट्याक्टर सहयोग गरेको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को यान्त्रिकरण अनुदान कार्यक्रमअन्तर्गत् ५० प्रतिशत अनुदानमा उक्त सहकारीलाई ट्रयाक्टर सहयोग गरेको हो ।
उपमहानगरपालिकाले कृषि उत्पादनमा टेवा पुर्याउने उद्देश्यले सहकारीलाई अनुदानमा ट्रयाक्टर हस्तान्तरण गरेको हेटौंडा उपमहनगरपालिका कार्यालय आर्थिक विकास महाशाखाका प्रमुख गंगाकुमारी चौलागाईले जनाएको छ ।
उक्त ट्याक्टर हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले सहकारीका अध्यक्ष रेखा खतिवडालाई चाबी हस्तान्तरण गरेका हुन् । ट्रयाक्टरमा उपमहानगरपालिकाले ६ लाख ५० हजार रुपैयाँ अनुदान व्यहोरेको महाशाखा प्रमुख चौलागाईले बताए ।
