देशभर १७ प्रतिशत रोपाईं सकियो
काठमाडौँ । देशैभर हालसम्म १७ प्रतिशत मात्रै रोपाईं भएको कृषि विभागले जानकारी दिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुन सक्रिय भएको र रोपाईं तीव्र रुपमा भएपनि अन्य प्रदेशमा भने मनसुनमा ढिलो भएको कारण रोपाईं १७ प्रतिशत मात्रै भएको विभागको भनाई छ ।
असार १५ गतेसम्म प्रदेश नम्बर १ मा १८ प्रतिशत र मधेस प्रदेशमा ११ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाईं सकिएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशमा ३८ प्रतिशत र कर्णाली प्रदेशमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । अरु प्रदेशमा रोपाईं भइरहे पनि पछिल्लो विवरण भने आउन बाँकी रहेको विभागले जनाएको छ ।
गत असार १० गतेसम्मको तथ्यांकअनुसार, बागमती प्रदेशमा २५ प्रतिशत र लुम्बिनी प्रदेशमा ९ प्रतिशत मात्रै रोपाईं भएको छ । गत वर्षको असार १५ गतेसम्म देशभर ३५ प्रतिशत रोपाईं सकिएको थियो । पश्चिममा छिटो मनसुन सक्रिय हुँदा रोपाईं राम्रो भए पनि अन्य प्रदेशमा भने आसातित रुपमा रोपाईं हुन नसकेको विभाग बताउँछ ।
