राष्ट्रियसभाको मंगलबार बस्ने बैठकमा सात मन्त्रालयको बजेटमाथि छलफल हुने

तु खबर संवाददाता
२०७९ असार ६, सोमबार १६:४०
file-photo

काठमाडौं । राष्ट्रियसभाको बैठक मंगलबार पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । उक्त बैठकमा सात वटा मन्त्रालयको बजेटमाथि छलफल हुने भएको जनाइएको छ ।

बैठकमा विनियोजन विधेयक (बजेट), २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृती, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल हुनेछ ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा विनियोजन विधेयक (बजेट), २०७९ अन्तर्गत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल भएको छ ।