‘एसपीपीमा नेपाल सहभागी नहुने भनेर प्रधानमन्त्रीले अमेरिकालाई पत्र लेख्नुपर्छ’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने भनेर प्रधानमन्त्रीले अमेरिकालाई पत्र लेख्नुपर्ने बताएका छन् । अध्यक्ष थापाले शुक्रबार काठमाडौंमा आयोजित विश्वको सर्वोच्च शिखर सगरमाथामा राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’ सहितको झण्डा फहराउने पर्वतारोहीहरुलाई ‘चन्द्रस्मृति विशिष्ट प्रतिभा सम्मान’ हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई एसपीपी नेपालको लागि आवश्यक नरहेको भन्दै अमेरिकालाई पत्र लेख्न आग्रह गरेका हुन् । अध्यक्ष थापाले एसपीपीको सम्बन्धमा विवाद देखिएको उल्लेख गर्दै विवादको निराकरणका लागि अमेरिकालाई पत्र लेखेर यसबाट अलग हुनुपर्ने धारणा व्यक्त गरे ।
उनले नेपाल अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको चलखेल केन्द्रको रुपमा देखा पर्न थालेको बताए । उनले नेपालको दुबै छिमेकी मुलुकहरु चिन र भारतसँगको सम्बन्ध राम्रो अवस्थामा नरहेको बताए । सरकारको क्रियाकलापका कारण चिनले नेपाललाई आशंकाको दृष्टिले हेर्न थालेको उनको भनाई छ ।
उनले अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउने क्रममा करको दर हेरफेर गर्न असम्बन्धित र गैरजिम्मेवार व्यक्तिहरुलाई संलग्न गराउनु जघन्य अपराध भएको टिप्पणी गरे । उनले उक्त कार्य आर्थिक अपराध, असंवैधानिक र गैरजिम्मेवारपूर्ण भएको बताए ।
