नेपालमा १० महिनामा भित्रियो ६४ अर्ब १० करोडभन्दा बढीको खाद्यन्न

तु खबर संवाददाता
२०७९ जेष्ठ २२, आईतवार १६:३४
file-photo

काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो दश महिनामा ६४ अर्ब १० करोड ४२ लाखभन्दा बढीको खाद्यन्न भित्रिएको छ । । भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार, सो अवधिमा विभिन्न देशबाट ६४ अर्ब १० करोड ४२ लाख ३७ हजार रुपैयाँको धान, चामल, मकै र गहुँ आयात भएको हो ।

२०७८ साउनदेखि २०७९ बैशाख मसान्तसम्मको अवधिमा नेपालमा २६ अर्ब ४० करोड ८० लाख ३३ हजार रुपैयाँको चामल र १६ अर्ब ९ लाख ७१ हजार रुपैयाँ धान भित्रिएको छ । यस्तै, सोही अवधिमा ६ अर्ब ३२ करोड ५२ लाख ९२ हजार रुपैयाँको गहुँ र १५ अर्ब ३६ करोड ९९ लाख ४१ हजार रुपैयाँ मकै नेपालले आयात गरेको छ ।

नेपालले पछिल्लो १० महिनामा १९ करोड १५ लाख ५७ हजार १८९ केजी गहुँ, ४२ करोड ५६ लाख २२ हजार ४०८ केजी मकै, ५२ करोड ७७ लाख ८१ हजार ८७७ केजी धान र ४९ करोड ९१ लाख २ हजार ३९१ केजी चामल आयात गरेको छ ।