रुपन्देही दुर्घटना अपडेट : सनाखत हुनेको संख्या ६ पुग्यो

तु खबर संवाददाता
२०७९ जेष्ठ २२, आईतवार १५:३२

काठमाडौं । रुपन्देहीमा आज बिहानै यात्रुवाहक बस दुर्घटनामा परेर मृत्यु भएकामध्ये थप एक जनाको सनाखत भएको छ । बिहान जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्वरको बस रोहिणी खोलामा खसेर दुर्घटना हुँदा मृत्यु भएका ९ जनामध्ये थप जनाको सनाखत भएको हो ।

थप सनाखत हुनेमा तिलोत्तमा नगरपालिका–८ कि ३७ वर्षीया तुलसी बस्याल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । यससँगै सनाखत हुनेको संख्या ६ पुगेको छ । यसअघि ५ जनाको सनाखत भएको थियो । जसमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट जिल्लाका २० वर्षीय दिनेश दास, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रुपन्देहीको ओमसतिया–४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे र भारतीय नागरिक ४० वर्षीय अरविन्द शर्मा रहेका छन् ।

दुर्घटनामा मृत्यु भएका अन्य ३ जनाको भने सनाखत गर्ने प्रयास भइरहेको रुपन्देही प्रहरीले जनाएको छ । उक्त बसमा ३३ जना सवार रहेका थिए । घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।