धर्म, परम्परा र संस्कृतिको नाममा विभेदका घटना हुनु अपमानजन कार्य हो : प्रधानमन्त्री देउवा

तु खबर संवाददाता
२०७९ जेष्ठ २१, शनिबार ०९:३५
file-photo

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले समाजमा विद्यमान धर्म, परम्परा र संस्कृतिका नाममा मानव मानवकै बीचमा जातीय, क्षेत्रीय, लैङ्गिक विभेदका व्यवहार हुनु आफैंमा एक अपमानजनक कार्य भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले नेपाल ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणाको १६ औं वर्ष पूरा भएको अवसरमा शनिबार एक शुभकामना सन्देशमार्फत मानव सृष्टि र सभ्यताको विकासक्रमसँगै प्रारम्भ भएको विभेद, विकृति र विसंगतिले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै सो कुरा बताएका हुन् ।

उनले हरेक नागरिकलाई न्याय समानता सहितको मर्यादित जीवनका लागि शुभकामना व्यक्त गरेका छन् । जातीय भेदभाव र छुवाछूत सामाजिक रुपमा अनैतिक, अमानवीय र कानूनी रुपमा गम्भीर अपराधजन्य कार्य भएको उनको भनाई छ ।

प्रधामन्त्री देउवाले जातीय भेदभाव र छुवाछूतको व्यवहार एक सभ्य समाजको कलङ्कका रुपमा रहेको हुँदा प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुनेगरी जीउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित गर्न कानुन नै बनाएर समातामूलक समाज निर्माणको सार्थक प्रयास हुँदै आएको जारी सन्देशमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री देउवाले सभ्य र आधुनिक समाज निर्माण गर्ने हामी सबैको दायित्व भएको बताए । उनले ‘कसैले कसैलाई पनि कुनै पनि किसिमको विभेद नगरौं, सबै किसिमका विभेदको आ–आफ्नो ठाउँबाट प्रतिवाद गरौँ, भेदभावविरुद्धका सबै कानुनको प्रभावकारी कार्यान्वयन गरौं, सभ्य र समृद्ध राष्ट्र निर्माण गर्ने राष्ट्रिय अभियानमा सहभागी बनौं’ भन्ने अपिल गर्दै ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणाको १६ औँ वर्ष पूरा भएको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।