धन्यवाद प्रस्ताव पारित भएर बागमती प्रदेशसभा बैठक स्थगित
मकवानपुर । बागमती प्रदेशसभाको दोस्रो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम टेबुल भएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सरकारको आगामी आवको नीति तथा कार्यक्रम टेबुल गरेका हुन् ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको तर्फबाट सोमबार बसेको प्रदेशसभाको पाँचौ बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मुख्यमन्त्री पाण्डेले सदनमा टेबुल गरेसंगै नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेशकी मुख्य सचेतक मुनु सिग्देलले प्रदेश प्रमुख शार्मलाई धन्यवाद प्रस्ताव सदनमा पेश गरेकी थिइन् ।
सिग्देलले पेश गरेको धन्यवाद प्रस्तावलाई प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका मुख्य सचेतक दिपक निरौलाले मिर्थन गरेका थिए । उक्त प्रस्ताव सदनबाट पारित भएको छ । धन्यवादको प्रस्ताव पारित भएसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको आजको बैठक स्थगित गरेका छन् ।
सभामुख श्रेष्ठले प्रदेशसभाको अर्को बैठक यही जेठ १८ गते दिउँसो २ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन् । १८ गते बस्ने बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ भने भोली सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गर्ने समय कायम गरिएको छ ।
