हेटौंडाबाट सिमेन्ट बोकेर सोलुखुम्बु जाँदै गरेको ट्रक दुर्घटना, चार जनाको मृत्यु
उदयपुर । मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्वरको लोबेड ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
उक्त ट्रक सोमबार बिहान साढे २ बजेको सयमा सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौट खोला नजिक दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मृत्यु हुनेहरुमा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान तामाङ, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङ रहेका छन् । प्रहरीका अनुसार, दुर्घटनामा परेर उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रक सडकबाट करिब एक सय मिटर तल खसेको थियो । हाल घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । उक्त उद्धार टोलीले स्थानीयवासीको सहयोगमा शव बाहिर निकाल्ने प्रयास जारी राखेको छ । ट्रकमा कति जना सवार थिए भने यकिन भई नसकेको र घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको उदयपुर प्रहरीले जनाएको छ ।
