तारा एयर दुर्घटनाः शव संकलन गर्दै प्रहरी

तु खबर संवाददाता
२०७९ जेष्ठ १६, सोमबार ०९:२६
तस्वीरः नेपाली सेना

काठमाडौँ । तारा एयरको हिजो सम्पर्कविहीन भएको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाको टोली घटनास्थलमा पुगेको जनाइएको छ । नेपाल सेना र सशस्त्र प्रहरीको टोलीले अहिले घटनास्थलमा शव संकलन गरिरहेका छन् ।

प्रहरीले घटनाको विस्तृत विवरण आइनसकेको जानकारी दिएको छ । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । सोमबार बिहानैबाट पुनः खोजी थालिएको थियो ।

नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् ।

जहाज दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका सात सदस्य पनि परेका छन् ।