तारा एयर दुर्घटना : विमानमा धनुषाका एकै परिवारका ७ जना रहेको पुष्टि
धनुषा । आज बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको तारा एयरको विमानमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
तारा एयरका अनुसार, उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामा धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका ७ जना रहेको पुष्टि भएको हो ।
विमानमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको हो । गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए ।
