हेटौंडामा १७ जना उम्मेदवारको शुन्य मत (नामावलीसहित)
मकवानपुर । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरको विभिन्न पदका १७ जना उम्मेदवारले १ मत पनि पाएनन् ।
मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका संजय खरेल, प्रदिप ढकाल, र नेकपा समाजवादीका रोमनाथ भूर्तेलले मत नपाएका हुन् । त्यस्तै वडा अध्यक्ष पदमा वडा नम्वर २ मा नेपाल मजदुर किसान पार्टीका रमेश बहादुर थिङ्ले मत नपाएका हुन् । सोही वडामा स्वतन्त्र उम्मेदवार शिव प्रसाद गौतमले पनि मत नपाएका हुन् ।
त्यस्तै ७ नम्वर वडा अध्यक्षमा सचेत नेपाली पार्टीका मीन बहादुर लामिछाने, ८ नम्वर वडा अध्यक्ष पदमा सोही पार्टीका ध्यान बहादुर खत्री, स्वतन्त्र उम्मेदवार अर्जुन प्रसाद ढुंगाना र रोम बहादुर घतानेले मत नपाएको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै १० नम्वर वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका सोमबहादुर लामा, १५ नम्वर वडा अध्यक्ष पदमा कृष्णलाल स्याङ्तान र प्रेम बहादुर भोम्जन, १८ नम्वर वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार युवराज खड्काले शुन्य मत पाएका हुन् ।
वडा सदस्य पदमा भने वडा नम्वर ८ का ४ जनाले शुन्य मत पाएका छन् । स्वतन्त्र उम्मेदवारहरु सरोजकुमार श्रेष्ठ, सरोज कार्की, दिपेन्द्र थापा र गंगा मग्रातीले १ मत पनि नपाएका हुन् ।
आयोगको तथ्याङ्क केलाउँदा हेटौंडाको विभिन्न पदमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका १३ जना र राजनीतिक दलको तर्फबाट उम्मेदवारी दिएका ४ उम्मेदवारले मत नपाएका हुन् ।
संघीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरु मेयर पदमा नै निर्वाचित भइरहँदा बागमती प्रदेशको राजधानी हेटौंडामा भने स्वतन्त्र उम्मेदवारहरुले १ मत पनि नपाउनुलाई चासोका साथ हेरिएको छ । यद्यपी केही स्वतन्त्र उम्मेदवारहरुले सामान्य मत प्राप्त गरेका छन् ।
उम्मेदवार आफैँ पनि मतदाता भएको अवस्थामा उनीहरुको १ मत पनि नआउनुको पछाडी विभिन्न कारण रहेको जानकारहरु बताउँछन् । उम्मेदवारले अर्को उम्मेदवारलाई सघाएर आफु ब्याक भएको अवस्थामा वा मतदान प्रक्रियामा सहभागी नभएको अवस्थामा, दिएको मत बदर भएको अवस्थामा, उपस्थित भएर मतदान नगरेको अवस्थामा उम्मेदवारको शुन्य मत आउने जानकारहरुको भनाई छ । मतगणनाको क्रममा त्रुटि भएको अवस्थामा पनि उम्मेदवारले पाएको मत गुम्ने संभावना हुने उनीहरु बताउँछन् ।
