संसदीय समितिलाई प्रभावकारी बनाउन पहल गर्छु : सभामुख श्रेष्ठ

तु खबर संवाददाता
२०७९ जेष्ठ ११, बुधबार ०८:४३
file-photo

मकवानपुर । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको समग्र सुशासनका लागि संसदीय समितिलाई प्रभावकारी बनाउन छलफल र परामर्श बढाउने बताएका छन् । यूएनडीपी संसद सहयोग परियोजनासँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले मकवानपुरको हेटौंडामा गरेको सुशासनका लागि संसद, सांसद र संसदीय समितिको भूमिका विषय सार्वजनिक सुनुवाइ कार्यक्रममा सभामुख श्रेष्ठले सो कुरा बताएका हुन् ।

उनले विकास, निर्माण लगायतका क्रियाकलापमा विभिन्न अनियमितता, अपारदर्शिताका बारेमा सार्वजनिक सञ्चारमाध्यममा आएका खबरमा पनि संसद र संसदीय समितिको चासो हुने भन्दै नागरिकस्तरमा पनि चेतनाको विकास हुनुपर्ने बताए ।

यस्तै, सार्वजनिक सुनुवाइमा सार्वजनिक लेखा समितिका सभापति न्ह्च्छेनारायण श्रेष्ठले चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारी कार्यालय र समिति तथा संस्थातर्फ ७२ करोडभन्दा धेरै बेरुजु देखिएको उल्लेख गर्दै उक्त रकम उठाउनका लागि समितिले सजग गराउने तथा ताकेता पनि गरिरहेको दावी गरे । समितिले दिएका निर्देशनको पूर्ण पालना नभएको जानकारी गराउँदै उनले सरकारमा सहभागी भएको दलबाट आफू लेखा समितिको सभापतिमा भए पनि सुशासनका लागि कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सहभागीहरुले प्रतिपक्षी दलका सांसदले सार्वजनिक लेखा समितिको सभापति पाउनुपर्ने अभ्यासको पालना नभएको बारेमा प्रश्न गरेका थिए । सञ्चारकर्मीका लागि संसदीय समितिका बैठकहरुमा निर्वाध आउनेजाने वातावरण मिलाउनुपर्ने अन्तरक्रियामा सहभागी पत्रकारहरुको माग थियो । जवाफमा प्रदेश मामिला समितिका सभापति माधव पौडेलले आफ्नो समितिको बैठकमा पत्रकारलाई कहिल्यै नरोकेको र आगामी दिनमा पनि नरोक्ने प्रतिबद्धता जनाए ।

गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष आरती पाठकले कानून निर्माणमा सरोकारवाला निकायको सहभागिता कम्जोर भएको भन्दै आगामी दिनमा सुधार गर्दै अघि बढ्न सुझाव दिइन् । कार्यक्रममा सहभागी एक सयभन्दा धेरै सहभागीहरुले कानून निर्माणमा नागरिकको सहभागिता बढाउन र खुला संसदको अभ्यासलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन सुझाव दिएका थिए ।