सबै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाइने

तु खबर संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १८:०६
file-photo

काठमाडौं । सरकारले सबै प्रदेशमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको कामलाई अघि बढाउने जनाएको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्या भण्डारीले सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि देशभरका सात वटै प्रदेशमा प्रशिक्षण सुविधासहितको रंगशाला बनाउने नीति ल्याइएको जानकारी दिइन् ।

गैँडाकोटमा विपि कोइराला अन्तर्राष्‍ट्रिय खेल मैदान निर्माण गर्ने जनाएको छ । यस्तै, सबै स्थानीय तहमा खेल मैदान निर्माण गर्दै लैजाने, खेलकुद तालिम दिँदै जाने र खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गर्ने, भरतपुरमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको काम पूरा गर्न समन्वय र सहजीकरण गरिने राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।