स्वास्थ्यमन्त्री विरोध खतिवडाले गरे मतदान
मकवानपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मतदान गरेका छन् । उनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भुटनदेवी माद्यमिक विद्यालयको मतदान केन्द्रमा पुगी ४ः३० बजे मतदान गरेका हुन् ।
विहान ७ बजेबाट मतदान प्रारम्भ भएको भए पनि मन्त्री खतिवडाले मतदान अवधि सकिनै लाग्दा मतदान गरेका हुन् । यसअघि पूर्व उपप्रधानमन्त्री कमल थापा, नेपाली कांग्रेसकी केन्द्रीय सह महामन्त्री महालक्ष्मी उपाध्याय डीना बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तान, , कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पूर्व मुख्यमन्त्री डोरमणि पौडेललगायत विभिन्न स्थानीय तहका उम्मेदवारहरुले मतदान गरिसकेका छन् ।
मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जना मतदाताहरु रहेका छन् । जसमध्ये १ लाख ४ ९ जना पुरुष , १ लाख ४४ हजार ९ सय ५९ जना महिला तथा ६ जना तेस्रो लिङ्गी रहेको निर्वाचन आयोग बागमती प्रदेश कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।
मकवानपुरको सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिकाको रहेको जनाइएको छ । हेटौंडामा मात्र १ लाख ४ हजार ४ सय ५० जना मतदाता रहेका छन् । यस्तै, थाहा नगरपालिकामा ३२ हजार ३ सय ७ जना मतदाता रहेका छन् । बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना, बागमती गाउँपालिकामा २२ हजार ४० जना मतदाता रहेका छन् ।
यस्तै भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना, मनहरी गाउँपालिकामा २७ हजार ७ सय २१ मतदाता रहेका छन् । राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ३२ जना, ईन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४ सय ७१ जना र कैलाश गाउँपालिकामा १४ हजार ५ सय ४७ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
