‘सत्तारुढ गठबन्धनको जीत नै हेटौंडावासीको हित’

तु खबर संवाददाता
२०७९ बैशाख २४, शनिबार १६:४८

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर उम्मेदवार मीना लामा र उपमेयर उम्मेदवार राजेश बानियाँले समग्र परिवर्तन गर्न सत्तारुढ गठबन्धनलाई मतदान गर्न आग्रह गरेका छन् । शनिबार हेटौंडा–१ स्थित चौकीटोल क्षेत्रमा घरदैलो गर्दै मेयरका उम्मेदवार लामा र उपमेयरका उम्मेदवार बानियाँयले गठबन्धनको जीत नै हेटौंडावासीको हित भएको जीकिर गरेका हुन् ।

‘परिवर्तनका लागि गठबनधनलाई मतदान गर्नुस् । यो उपमहानगर कुनै पार्टीको होइन । जनताको हो । अर्को पार्टीले जनमतको अवमूल्यन गरिरहेको छ ।’, उपमेयरका उम्मेदवार राजेश बानियाँले भने,‘एउटै व्यक्तीलाई कहिले माननीय, कहिले मेयर । एउटै व्यक्ति कहिले मेयर भएको छ कहिले मुख्यमन्त्री ।’

बानियाँले सत्तारुढ गठबन्धन परिवर्तन र विकासको पक्षधर भएका कारण जनताले मतदान गर्ने दावी गरे । ‘अब हेटौंडा उपमहानगरपालिका साझा चौतारीको रुपमा अगाडि बढ्नेछ । कुनै एउटा दलको मात्र हुने छैन । हामी विकासका मोडल तयार गर्नेछौं ।’, उनले भने । हेटौंडा–१ मा संयुक्त गठबन्धनको तर्फबाट सविन न्यौपाने उम्मेदवार रहेका छन् । उनी यसअघि पनि अत्याधिक बहुमतले निर्वाचित भएका थिए ।