समृद्ध वडा निर्माणको लागि मेरो उम्मेदवारी– पौडेल

तु खबर संवाददाता
२०७९ बैशाख २३, शुक्रबार १९:५२

मकवानपुर । सत्तारुढ पाँच दलीय गठबन्धनबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ का वडा अध्यक्ष पदका साझा उम्मेदवार हरिप्रसाद पौडेलले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । उनले मतदातासमक्ष पुगेर मनोभावना बुझी आवश्यक सुझावसमेत संकलन गरेर प्रतिवद्धतापत्र तयार पारिएको र वडावासीको हितका लागि सोही प्रतिवद्धतालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताए ।

उनले आफ्नो प्रतिवद्धतामा शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिएका छन् भने स्थानीय भाषा, कला, साहित्यको संरक्षण एवम् प्रोत्साहन गर्ने, कृषि आनुनिकीकरण एवम् व्यवसायीकरण, व्यवस्थित सेवा प्रवाहलगायत विषय समावेश गरेका छन् ।

प्रतिवद्धतापत्रमा वडाका सामुदायिक विद्यालयहरुको पठनपाठनलाई प्रविधिमैत्री बनाउन बार्षिक ३ लाख विनियोजन गर्ने, वडास्तरीय शैशिक छात्रवृत्ति कोष खडा गरी संचालन गर्ने, वडामा सबै सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा पठन पाठनमा पहल गर्ने, वडाका विपन्न सिमान्तकृत, लोपोन्मुख, समुदायबाट कम्तिमा ५ जनालाई प्राविधिक शिक्षा पढाउने र पढाइपश्चात रोजगारीको व्यवस्थापन गर्ने उल्लेख छ ।

हरेक सामुदायिक विद्यालयमा सुविधा सम्पन्न शिशु स्याहार केन्द्र संचालन गर्ने, कम्प्यूटर हार्डवेयर र सफ्टवेयर शिक्षाको प्रशिक्षण केन्द्र संचालन गर्ने, मोहन बज्राचार्य शहरी स्वास्थ्य केन्द्रको अधुरो भवनलाई पूर्णता दिई विषेशज्ञ चिकित्सकको सेवासहित १० शैयाको स्वास्थ्य केन्द्र संचालन गर्ने, गरिब विपन्न वर्गको परिवारको प्रारम्भिक स्वास्थ्य बीमा गर्ने पौडेलको योजना छ ।

त्यस्तै जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरणको व्यवस्था मिलाउने, उनीहरुको लागि सुविधायुक्त पुस्तकालयसहितको जेष्ठ नागरिक पार्कको व्यवस्थापन गर्ने, वडाभित्र रहेका गुम्बा, मठमन्दिर, मस्जिद, चर्चहरुको प्रभावकारी व्यवस्थापनमा जोड दिने, स्वास्थ्य स्वयम् सेविकाहरुको मासिक सुविधा थप गरिने, चिल्ड्रेन पार्कलाई थप सुविधायुक्त बनाउने योजना पौडेलको छ ।

अधुरा रहेका खानेपानी ढलका योजनाहरु पुरा गर्ने, काठका विजुलीका पोलहरु विस्थापित गर्ने, वडाभित्र रहेका चिहानघाट एवम् क्रियापुत्री भवनहरुलाई व्यवस्थित पार्ने, वडालाई नमुना टोल विकास संस्थाको अवधारणालाई अगाडि बनाउने, आवश्यकताका आधारमा नयाँ सडक खोल्ने, वडाभित्र रहेका भूमिहिन, अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्त तथा लालपूर्जा वितरणका लागि पहल गर्ने, वडाबाट जेष्ठ नागरिक, एकल महिला, असक्त एवम् फरक क्षमता भएकाहरुलाई सम्मान गर्ने पौडेलको प्रतिवद्धतापत्रमा उल्लेख छ ।

वित्तीय क्षेत्रसँग समन्वय गरी सामाजिक सुरक्षा भत्ता वितरण सेवा घर दैलोमा पुर्याउने, वडाका संवेदनशील स्थानहरुमा सी.सी क्यामेरा जडान गरिने, वडा भित्र रहेका संघसंस्था, समूह क्लब, उपभोक्ता समितिहरुमा ४० प्रतिशत महिला सहभागिताको सुनिश्चितता गर्ने, घरेलु हिंसा, बाल विहाह, बाल श्रम शोषण, मानव बेचविखन, लागू औषध दुव्र्यसनीलगायत विभिन्न सामाजिक समस्या न्यूनिकरणको पहल गर्ने उनको योजना छ ।

त्यस्तै वडा अध्यक्ष निर्वाचित भएपछि पर्यटन प्रवद्र्धनका लागि वडाभित्र रहेका पार्कहरुलाई आवश्यक बजेटको प्रबन्ध गरी उचित व्यवस्थापन गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने, वडाको सेवालाई सुशासन, जनमुखी र जनमैत्री बनाउने, बेरोजगार युवा तथा महिलाको उद्यमशिलता विकास गर्न आवश्यक सीप विकास तालिममा जोड दिने र निशुल्क घरदैलो सरसफाई अभियान संचालन गर्ने, सार्वजनिक जग्गाको संरक्षण गर्ने उनी बताउँछन् ।

वडा अध्यक्ष निर्वाचित भएपछि वडाभित्र सामुदायिक विद्यालयमा मातृभाषा अध्यापनको प्रबन्ध मिलाउने, विभिन्न स्थानमा सार्वजनिक सौचालय स्थापना गर्ने, वडावासीले विद्युतीय माध्यमबाट स्वास्थ्य अभिलेख राख्ने व्यवस्था मिलाउने, महत्वपूर्ण सार्वजनिक स्थानहरुमा निशुल्क इन्टरनेटको व्यवस्था गर्ने, वडाको सबै कामकारवाही वेभसाइटमार्फत् गर्ने, विजुलीको पोल तथा तारको व्यवस्थापन गर्ने उनी बताउँछन् ।

विपत् व्यवस्थापनको लागि जनशक्ति उपलब्ध गराउने, वार्षिक रुपमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने, राष्ट्रिय राजमार्ग विस्तारको सन्दर्भमा क्षतिपूर्ति, मुआब्जाको व्यवस्थापन गर्ने गराउनेतर्फ पहल गर्ने, हुप्रचौरको सौन्दर्य बढाउन संरक्षणमुखी नीति अवलम्वन गर्ने र कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायिकरण र बजारिकरणको मूल्यांकन गर्दै उपयुक्त स्थान तथा क्षेत्रहरुको पहिचान गरी आय आर्जनको कार्यक्रमहरु सञ्चालन गरिने पौडेलको प्रतिवद्धतापत्रमा उल्लेख छ ।

उनले अघिल्लो स्थानीय निर्वाचनमा पनि आफु झिनो मतले पराजित हुनुपरेकोले जनहितका काम गर्ने योजनाहरु अधुरै रहेकोले अब त्यसलाई पूर्णता दिइने बताए । जनताको मनोभावना अनुरुपनै सबैको राय सल्लाह अनुसार नै समृद्ध वडा निर्माणका लागि आफ्नो पहल हुने पौडेलको भनाई छ ।