काभ्रेमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ बैशाख २१, बुधबार १५:३७

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नम्वर ११ मा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट भारत तर्फ जाँदै गरेको तीर्थ यात्रु सवार यूपी ५८३८१८१ नम्बरको बस र विपरित दिशातर्फ आउँदै गरेको ना १ ज ४२१० नम्बरको जीप एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मृत्यु हुनेहरुमा रामेछापकी ३५ वर्षीया सम्झना भुसाल र उनको ७ वर्षीय छोरा संगित भुसाल, सिन्धुलीको कमलामाई–७ का ३१ वर्षीय बिक्रम श्रेष्ठ, कमलामाई–४ का ४५ वर्षीय हरिबहादुर बल र सुनकोशी–१ की ४४ वर्षीया प्रमिला नेपाली रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतक सबै जना जीपमा सवार थिए ।

उक्त जीपमा ८ जना सवार थिए । तीमध्ये ५ जनाको मृत्यु भएको हो । यस्तै, दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ ।