मन्त्री मोक्तानबाटै लगातार निर्वाचन आचारसंहिता उल्लंघन, आयोग मौन
मकवानपुर । मकवानपुरमा आचारसंहिता उल्लंघनका घटना बढिरहेका छन् । निर्वाचन आयोगले आचारसंहिता पूर्ण कार्यान्वयन गर्ने दावी गरिरहेको भएपनि मकवानपुरका सरकारी कर्मचारीदेखि मन्त्रिसम्मले आचारसंहिता उल्लंघन गरिरहँदा निर्वाचन आयोग र मकवानपुर प्रशासन मौन देखिएका छन् । बागमती प्रदेशको बहालवाला सामाजिक विकासमन्त्री कुमारी मोक्तान दैनिक रुपमा चुनावी प्रचारप्रसारमा सहभागी हुँदै आएकी छिन् । विगत केही दिनदेखि मन्त्री मोक्तानले चुनावी सभालाई सम्बोधनसमेत गर्दै आएकी छिन् ।
आइतबार मात्रै पनि मन्त्री मोक्तानले हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १४ मा ३ दलीय गठबन्धनको वडा कमिटीको आयोजनामा भएको चुनावी सभालाई सम्बोधन गरिन् । निर्वाचन आचारसंहिता विपरीत मुक्तान स्थानीय तहको गठबन्धनमा चुनावी प्रचारप्रसारमा व्यस्त हुन थालेकी हुन् । मोक्तान नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुलाई मत माग्न, सम्पर्क कार्यालय उद्घाटन गर्न सक्रिय भएकी हुन् ।
निर्वाचन आचारसंहिता अनुसार सांसदले कुनै पनि उम्मेदवारको चुनावी प्रचार गर्न, प्रचारप्रसार कार्यालयको उद्घाटन गर्न मिल्दैन । केही दिन अघि मन्त्री मोक्तान आचारसंहिताको वेवास्ता गर्दै पश्चिम मकवानपुरको मनहरीका विभिन्न वडामा उम्मेदवारहरुसँगै प्रचारमा हिँडेकी थिइन्।
मनहरी गाउँपालिका वडा नं ३ मा पुगी उम्मेदवारहरुको प्रचार कार्यक्रममा सहभागी मात्र भइनन् । मोक्तान माओवादी केन्द्र र गठबन्धन निकट उम्मेदवारहरुको चुनावी प्रचारप्रसार कार्यालय उद्घाटनमा व्यस्त छिन् । केहीदिन अघि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत एमालेको चुनावी प्रचारप्रसारमा सहभागी भएका थिए भने दैनिक जसो निजामती सेवामा रहेका कर्मचारीहरु विभिन्न दलको चुनावी अभियानमा जुटिरहेका छन् ।
