गजल मञ्च मकवानपुरको अध्यक्षमा केशव समर्पण

मकवानपुर । गजल मञ्च मकवानपुरको अध्यक्षमा गजलकार एवम् पत्रकार केशव समर्पण चयन भएका छन् । मञ्चको आइतबार भएको तेस्रो अधिवेशनबाट समर्पणको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
यस्तै, मञ्चको उपाध्यक्षमा सञ्जित श्रेष्ठ, सचिवमा हरिप्रसाद पौड्याल, सहसचिवमा अर्चना दाहाल, कोषाध्यक्षमा विशाल अधिकारी (आशुतोष) चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः किशन पौडेल, स्वस्तिका दाहाल, भोला शिवाकोटी र रोशनी चौलागाई रहेका छन् ।
अधिवेशनकैबीच मकवानपुरका गजलकार विश्वनाथ सञ्जेललाई स्रष्टा सम्मान (२०७८) प्रदान गरिएको छ । गजल क्षेत्रको उन्नयन, विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै १९० औं विशेष गजल यात्रामा सम्मान पत्रसहित सञ्जेललाई सम्मानित गरिएको हो ।
कार्यक्रममा पाँच जना कृतिकारलाई कृति प्रकाशन सम्मान प्रदान गरिएको थियो । २०७४ सालदेखि हालसम्म गजल संग्रह कृति प्रकाशनमा ल्याएका गजल सङ्ग्रह कहरका कृतिकार किसन पौडेल, संयुक्त गजल संग्रह गोधुली चिन्तनका कृतिकार एसआर मञ्जरी ओली र भोला शिवाकोटी, अक्षर आराधनका कृतिकार मसान उपासक र फर्कियौ किनारबाटका कृतिकार विश्वनाथ सञ्जेललाई सम्मान गरिएको थियोे ।
मञ्चका अध्यक्ष देवराज तिवारीको सभाधयक्षता तथा हास्यब्यङ्ग्यकार एवम् बरिष्ठ साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार रमेशमोहन अधिकारी, झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष एवम् गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष दीपक गौतम, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने, संस्थाका उपाध्यक्ष सिएम रिमाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।