राप्रपा टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुगेपछि एमाले प्रवेश गरेको हुँ – चौलागाईं

तु खबर संवाददाता
२०७९ बैशाख १८, आईतवार १७:३८

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी नेकपा एमाले प्रवेश गरेका खिलप्रसाद चौलागाईंले राप्रपा टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुगेपछि आफुले विकल्प खोज्नुपरेको बताएका छन् । पार्टी प्रवेशलगत्तै कार्यक्रमलाई सम्बोधन गर्दै चौलागाईंले आफु जनहितको काम गर्न एमाले प्रवेश गरेको बताए ।

‘म काम गर्नुपर्ने मान्छे, सक्रिय रहनुपर्ने मान्छे, लामो समय योगदान गरेको पार्टी परित्याग गरेर अर्को पार्टी रोज्नु मेरो रहर पक्कै होइन । म त सक्रिय भएर जनहितको काम गर्न रुचाउने मान्छे, पछिल्लो समय आफु निष्कृय भएको हो कि भन्ने अनुभूति हुँदैगयो । त्यसकारण राप्रपा परित्याग गरेँ ।’ उनले भने ।

उनले आफु एमाले नेता अनन्त पौडेल र रामेश्वर रानासँगै विद्यालय पढेको र अहिले पनि सक्रिय राजनीतिमा रहेर जनताको सेवाका लागि उहाँहरुकै अनुरोधमा आफु एमालेमा प्रवेश गरेको बताए । चौलागाईं झण्डै ४ दशकदेखि राप्रपाको सक्रिय राजनीतिमा रहेका थिए । उनी राप्रपा मकवानपुरको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा थिए । कमल थापाले राप्रपा नेपाल स्थापना गरेपछि चौलागाईं तटस्थ बसेका थिए ।