दूध ट्यांकरको ठक्करबाट साइकलयात्रीको मृत्यु
चितवन । भरतपुर महानगरपालिकाको भित्रि सडकमा आज दिउँसो दूध बोकेको ट्याङ्करले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ शान्ति मार्गमा भोजाडबाट विशालचोकतर्फ आउँदै गरेको बा २ क ४५७५ नं को ट्याङ्करले सोही दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका–५ बस्ने २० वर्षीय प्रमित भनिने आदित्य जैसवाल रहेका छन् । ट्या्करको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीले साइकललाई ठक्कर दिने ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । मृतकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
