दुर्घटनामा ४ भारतीयसहित ५ जनाको मृत्यु
धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं ७ जुगेखोलामा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बा ५ ख ८४४३ नम्वरको बसले काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६–च २९६८ नम्वरको कारलाई ठक्कर दिँदा ४ जना भारतीयसहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा कार चालक तनहँुको खैरेनी नगरपालिकाका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतको उत्तर प्रदेशका ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीय सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका कारका चालक डिलबहादुर र बिमलचन्द्रको टिचिङ अस्पताल र अन्यको ट्रमा सेन्टरमा मृत्यु भएको हो । नेपाल घुम्नका लागि गत बैशाख ७ गते नेपाल आएका उनीहरु आइतबार पोखराबाट काठमाडौ फर्कर्ने क्रममा दुर्घटना भएको हो ।
