हेटौंडाको मेयरमा ६ जनाको उम्मेदवारी दर्ता

तु खबर संवाददाता
२०७९ बैशाख ११, आईतवार १६:३१

मकवानपुर । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यो समाचार तयार पार्दासम्म हेटौंडा–२ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलबाट ४ जना र स्वतन्त्र २ जना गरी ६ जनाले मेयर पदको लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठका अनुसार नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रोमनाथ भुर्तेल, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्या कुमार भट्टराई र सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै मेयर पदमा लिलाकुमारी आचार्य र देवराज पौडेलले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उपमेयर पदका लागि भने २ जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरका लागि मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे र नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मख कुमारी तिमल्सिनाले उम्मेदवारी दिएका हुन् ।